FAQs Complain Problems

 संक्षिप्त परिचय : 

नेपालको बागमती प्रदेश अन्तर्गत पर्ने एक हिमाली जिल्लाको रुपमा परिचित दोलखा जिल्लाको दक्षिणी भेगमा अवस्थित मेलुङ गाउँपालिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले एक महत्वपूर्ण स्थान हो । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस  गाउँपालिका प्राकृतिक सम्पदाले सम्पन्न मात्र नभएर विभिन्न जातजाति, धार्मिक एकताको धरोहरका रुपमा समेत परिचित छ । यस मेलुङ गाउँपालिकाको नाम ऐतिहासिक मेलुङ बजारको नामबाट रहन गएको हो । किम्वदन्ती अनुसार तिब्बतबाट लामागुरु आई बस्ती बसाउन ठाउँ खोज्ने क्रममा मन्त्र जपेर अक्षेता फ्याल्दा अहिलेको मेलुङ बजारमा आगो बलेकोले बस्ती बसाल्न थालियो र तामाङ भाषामा 'आगो बलेको' अर्थात 'मे' -'आगो' र 'लुङ' -'बलेको ज्वाला' भन्ने शब्दबाट मेलुङ नाम रहन गएको भन्ने भनाइ छ । यहाँबाट धार्मिक तथा प्राकृतिक सौन्दर्यको संगमस्थल: शैलुङडाँडा करिब ५ घण्टाको पदमार्ग पार गरेपछि पुग्न सकिनुका साथै नजिकै रहेको जलबिध्युत विकास नमुनाको रुपमा निर्मित खिम्ती जलबिध्युत आयोजनाको समेत सजिलै अवलोकन गर्न सकिन्छ । साबिकको मेलुङ, भेडपु, डाँडाखर्क, घ्याङसुकाठोकर र पवटी गाविसहरु मिलाएर बनाईएको मेलुङ गाउँपालिकाको पूर्वमा तामाकोसी गा.पा, पश्चिममा सैलुङ गा.पा.र रामेछाप जिल्ला, उत्तरमा सैलुङ गा.पा. तथा दक्षिणमा रामेछाप जिल्ला पर्दछ । यस गाउँपालिकालाई सातवटा वडाहरुमा विभाजन गरिएका छ । साबिकको पवटी गा.बि.स.(१-९ )लाई वडा नं.-१, घ्याङ सुकाठोकर गा.बि.स.(१-४ ) लाई वडा नं.-२, घ्याङ सुकाठोकर गा.बि.स.(५-९) लाई वडा नं.-३, भेडपु गा.बि.स.(१-९ )लाई वडा नं.-४, डाँडाखर्क गा.बि.स.(२-६,८)लाई वडा नं.-५, डाँडाखर्क गा.बि.स.(१,७,९ ) र मेलुङ (६,८,९,) लाई वडा नं.-६ र  मेलुङ (१-५,७) लाई वडा नं.-७ बनाईएको छ ।